बडा दशैं

बडा दशैंको अष्टमीको दिन थियो । आज कृष्णे बिहान साथीहरूसँग खेल्न घरबाट निस्क्यो । उसका सबै साथीभाइ उसकहाँ झुम्मिन आइपुगे । आज उसले आफ्ना साथीहरूलाई कहिल्यै नदेखे झैं गरी हेर्न थाल्यो । किनभने आज उसका सबै साथीभाइले नयाँ लुगा लगाएका थिए । तर उसको आफ्नै लुगा भने पुरानो थियो । त्यसैबेला उसको एकजना साथीले उसलाई भन्यो -“कृष्णे तैंले किन पुरानै लुगा लगाएको ? तँलाई थाहा छैन आज त दशैं हो नि । तँलाई तेरो बुबाले नयाँ लुगा किनिदिनु भएन ? ” अर्को साथीले भन्यो - “तेरो बुबा त कस्ता होलन्, दशैंमा पनि नयाँ लुगा नकिनिदिएका । हेर हाम्रो त नयाँ लुगा छ ।” तेरो घरमा त खसी पनि काट्दैनन् होला हगी ? आज हाम्रो घरमा त खसी, कुखुर काट्छौं । तैंले त दशैंमा पनि मासु खान पाउँदैनस्, नयाँ लुगा लाउँन पाउँदैनस् हगी ?”

कृष्णे केही नबोली दौडेर आफ्नो घरभित्र पस्यो । अनि बिरामी परेर लडिरहेको आफ्नो बुवालाई भन्यो - “बुवा मलाई पनि नयाँ लुगा किनिदिनुस् न । आज त दशैं हो नि, बुवा। हेर्नुस त मेरा सबै साथीहरूले नयाँ लुगा लगाएका छन् । मलाई पनि नयाँ लुगा किनिदिनुस् न बुवा ।” विचरा उसको बुवा केही बोल्न सकेनन् । आफ्नो छोरालाई नयाँ लुगा किनिदिन मन नभएको कहाँ हो र, तर कसरी किनिदिन सक्नु उनले नयाँ लुगा । न खेत छ, न बारी नै न त आफ्नो जीउ नै स्वस्थ छ । आफ्नो छोरालाई एकजोर नयाँ लुगा किनिदिने त उसको पनि ठूलो धोको थियो, तर के ले ? उसलाई ऋण पनि कसले नै दिन्छ र ? पहिले लिएको ऋण नै तिर्न नसकेर छटपटी रहेको कृष्णेको बुबाले कसरी नयाँ लुगा किनिदिन सकुन् । औषधी नपाएर बिरामी भएर लडिरहेको कृष्णेको बुबाले कहाँबाट पाउनु नयाँ लुगा ।


आफ्नो बुबा एकोहोरो टोलाइरहेको देखेपछि कृष्णे एक कुनामा घोप्टिएर रुन्थ्यो । उसको बुबाले उसलाई फकाइ–फुल्याइ सम्झाउने प्रयास गर्थे तर कृष्णे मान्दैनथ्यो । ऊ रोएरै बसिरहन्थ्यो । अनि धेरैबेरपछि ऊ त्यही निदाउँथ्यो । पछि निद्राबाट बिउँझएपछि उसले सबै कुरा बिर्सिसकेको हुन्थ्यो । अनि फेरि उठेर बाहिर जान्थ्यो । उसले आफ्ना साथीहरूको नयाँ लुगा देख्थ्यो । अनि फेरि घरमै फकिन्थ्यो र बुबासँग विलौन गर्थ्यो “बुवा नयाँ लुगा ल्याइदिनुस न ।” सक्ने मात्र भए कृष्णेलाई नयाँ लुगै लुगामा पुरिदिउँ जस्तो लाग्थ्यो उसको बुवालाई तर नसकेपछि, ऊ केही बोल्न सक्दैनथ्यो ।

यसरी नै यसपली अष्टमीदेखि टिकाको दिनसम्म बडादशैंले कृष्णेलाई धेरैपल्ट रुवायो । कृष्णेको बुवाले धेरैपल्ट आफूलाई कमजोर र असक्षम महशुस गर्नुपर्योव । यस्तै दुःख र पिडा दिएर टिकाको दिनपछि बडा दशैं टाढिएर गयो । अनि कृष्णेको बुबाले मनमनै भन्यो -“यस्तो दुःख र पिडा दिन, यो बडा दशैं अबदेखि कहिल्यै फर्केर नआओस् ।”

रंग भरौं



source(स्रोत):fun4child.com

गाउँखाने कथा-३

१.साना–साना शरीर यिनका
साह्रै खट्ने बानी
कतै केही पर्‍यो भने
लावालस्कर जाने

२.गुलियो छ चिनीको स्वाद
नुनिलो नुन हुन्छ
खुर्सानीको स्वाद पीरो
कागतीमा कुन छ

३.फल्ने बेला हरियो छ
पछि हुन्छ रातो
झुक्किएर चपाएमा
लिन्छ यसले सातो

४.दल्दाखेरि फिँज आउँछ
छुँदा चिप्लो हुन्छ
यैले नुहाउँछ मान्छे
यैले लुगा धुन्छ

५.मुखबाट निस्कन्छ यो
पस्छ कानभित्र
आँखाले चैँ देखिँदैन
के भन्ने हो मित्र

६.काम यसका अनेक छन्
टी. भी. जस्तो रुप छ
साथमा छ एउटा मूसो
नचलाउँदा चूप छ
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.

.
उत्तरहरू
१.कमिला २.अमिलो ३.खुर्सानी ४.साबुन ५.बोली ६.कम्प्युटर

 

प्रतिकृयाको लागि सम्पर्कः nirmalbalami[at]gmail[dot]com